`

स्वास्थ्य परिक्षणका लागि काठमाडौमा ५८ जना पशु चिकित्सक परिचालित

Nepal One HD २९ असोज २०८० १७:११
अर्थ समाचार

काठमाडौ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परिक्षणलाई तीव्रता दिएको छ । आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्रालयले कलंकी खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगायत बिभिन्न स्थानमा पशु स्वास्थ्य परिक्षणलाई तीव्रता दिइएको जनाएको हो ।

पशु स्वास्थ्य परिक्षण र नमुना संकलनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ । सो क्रममा स्वस्थ पशुलाई हरियो रंग लगाउने, रोगी पशुलाई रातो रंग लगाउने र तुरुन्तै समूहबाट निकालेर बिक्री बितरणमा रोक लगाउने गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, चाडपर्व लक्षित गरेर दुग्ध विकास संस्थानबाट उत्पादित दूग्ध पदार्थको मूल्यमा कटौति गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले जानकारी दिए । मन्त्री भुसालले किसानले उत्पादन गरेको दूध प्रयाप्त हुँदा बाहिरबाट दुध नल्याइने गरि काम भएको पनि जानकारी दिए ।

उनले दूधको कारोवार गर्ने संस्थाहरुले एक महिना भन्दा बढी बक्यौता नगर्न भनिएको पनि बताए । लम्पी रोगबाट प्रभावितहरुलाई राहत दिनका लागि कार्यविधि तयार पारेर अर्थ र गृह मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री भुसालले खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनलाई पनि तीवता दिइएको र सो क्रममा खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योगलाई सिलबन्दी गरिएको र १९ मुद्धा दायर गरिएको जानकारी दिए ।


प्रतिक्रिया