`

काठमाडौमा हेटौंडा र दाङका खसी, जिउँदो खसी किलोको ६ सय ७० रुपैयाँमा बिक्री

Nepal One HD ३० असोज २०८० १६:०४
अर्थ समाचार

काठमाडौ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका तथा च्याङग्राको बिक्री सुरू गरेको छ ।
कम्पनीले थापाथली कार्यालय परिसरबाटै दशैंका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्री वितरण सुरू गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले कम्पनीलाई यस पटक निकासा भएको बजेट र तोकिएको कोटा अनुसार २ हजार खसी बोका र १ हजार च्याङग्रा खरिद गरेर बिक्री वितरण सुरु गरिएको बताए । उनले हेटौडा र दाङबाट १/१ हजार खसी बोका तथा हिमाली जिल्लाहरुबाट १ हजार च्याङ्ग्रा खरिद गर्ने प्रक्रियामा रहेको र केही आइपुगेर बिक्री सुरु गरिएको जानकारी दिए ।

उनले अहिले ढुवानी भाडामा वृद्धि भएपनि कम्पनीले जनतालाई सहुलियत होस भन्ने उदेश्यले बजार मुल्य भन्दा प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२ सय ५० मा बिक्री गरिरहेको जानकारी दिए । उनले कम्पनीले भित्र्याएका खसीबोक तथा च्याङग्राको पशु चिकित्सकबाट स्वास्थ परिक्षण गरी बिक्री सुरु गरिएको बताएका छन् । उनले नाप तौलमा समेत कुनै अनियमितता नहुने दाबी गरे । कम्पनीले शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा हरियो र कमसल खसी–बोकाको सिङमा रातो रङ लगाएको छ । खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।


प्रतिक्रिया