दशैं लाग्यो, किसानलाई धान भित्रयाउनै चटारो


ललितपुर– ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएर पाकेको छ । गत वर्षकोभन्दा यस वर्ष धान दशैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दशैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका हुन् । यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताए । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ छ ।
पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनु लगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले बताए । “खेती गर्ने किसानले समयमै मल पाउँदैनन् । किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ”, उनले भने । स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ । उनले भनिन्, “करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ ।” दसैँअघि धान भित्र्यापछि ढुक्कले दशैँ मनाउन पाउने किसान बताउँछन् । अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।