`

‘सुशासनलाई प्रवर्द्धन गर्ने कानुन संसद्ले बनाउनुपर्छ’

Nepal One HD १६ कार्तिक २०८० १९:२६
राजनीति

काठमाडौँ, १६ कात्तिक : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्ले कानुन बनाउँदै सुशासनलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारलाई ठीक ठाउँमा ल्याउने काम संसद्को भएको उल्लेख गर्नुभयो । संसद् चल्दा पनि विधेयक नहुने र अवरोध हुनेजस्ता प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा नेता यादवले जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । आठ वर्षसम्म सङ्घीय निजामती ऐन नबन्नु, प्रदेश प्रहरी ऐन बन्न नसक्नुले सङ्घीयताको अवस्था स्पष्ट छ ।”

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हामी संविधान, व्यवस्था र प्रणाली जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाउन लागेका छाँै भनी प्रश्न गर्नुभयो । “यो तीतो यथार्थ हो । शान्ति प्रक्रियाको कुरामा सत्ता स्वार्थका लागि हिजो एकै ठाउँमा उभिएको देखियो । तर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कसले रोक्यो ?”, उहाँले प्रश्न गर्नुभयो ।

संसद्लाई गति दिन नसकिएको बताउँदै उहाँले संविधान अनुकूलका ४० वटा कानुन तत्काल बनाउनुपर्ने आवश्यकता औँल्यानुभयो । सभापति लामिछानेले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले बजेट बनाउने क्रममा एक महिनाभन्दा बढी छलफल भएको तर अपवादबाहेक केही परिर्वतन नभएको बताउनुभयो । “संसद कति प्रभावकारी भयो भनेर यसले प्रष्ट हुन्छ । म आफैँ पनि लोकतान्त्रिक गणतन्त्रको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “तर संसद् पूर्णरूपले निष्प्रभावी भयो । हामीले चाहेको संसद् यही हो ? महिनौँदेखि सांसद बोलिरहने तर सरकारले केही सुुनुवाइ नगर्ने ?”

लोकतान्त्रिक समाजावादी पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले जनप्रतिनिधिले आवाज उठाउने थलोका रूपमा रहेको संसद्मा जनतासँग जोडिएका विषय उठाउने गरिन्छ तर संसद्मा उठेका अधिकांश विषयको सरकारले जवाफ नै दिँदैन भन्नुभयो । उहाँले संविधानको सही कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसकिएको उल्लेख गर्दै पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई पनि निष्कर्षमा पुर्याउन जरुरी रहेकामा जोड दिनुभयो ।

नागरिक उन्मुक्ति पार्टीका नेता लालवीर चौधरीले सदनमा काम गर्नुभन्दा पनि एक–अर्काको आलोचना बढी हुने गरेको टिप्पणी गर्दै तीन तहको सरकारबीचमा आवश्यक समन्वय नभएको बताउनुभयो । उहाँले सदनमा उठेका विषयलाई सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालीको क्षमताभन्दा बढी जनप्रतिनिधि राज्यले पाल्नुपरेको उल्लेख गर्दै सत्तामा भएकाले सबै राम्रो देख्ने र प्रतिपक्षमा पुग्नेबित्तिकै सातोपुत्लो उड्ने प्रवृत्ति रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले शासनको नेतृत्वकर्तासँग विकासको खाका नभएपछि देश विफल हुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले सरकारको कमी–कमजोरीका कारण संसद् कमजोर भएको बताउँदै सरकारले अपेक्षानुसार बिजनेस दिन नसकेको बताउनुभयो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा सात सय ६१ सरकार रहेको तर काम केही नभएको बताउनुभयो । उहाँले सुन्दा लोकतन्त्र भए पनि मुठ्ठीभर सीमित व्यक्तिको मनोमानीमा देश चलिरहेको बताउनुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सबै कुराको भागबन्डाबाट सरकार चलेको टिप्पणी गर्दै भ्रष्टाचार र अनियममितता बढेको उल्लेख गर्नुभयो ।
–––


प्रतिक्रिया