कालीगण्डकीले बगाउँदा २५ वर्षीया आमाको मृत्यु, छोरा गम्भीर घाइते


पर्वत-पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् ।
पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो ।दुवैजनालाई उद्धारगरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्याउने वित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते बालकलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।