अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोजिरहेको छ : रक्षामन्त्री खड्का
काठमाडौँ – कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोजिरहेको टिप्पणी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यबाहक प्रधानमन्त्री खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको भन्दै सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताए । उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भन्दै सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्ने र प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने बताएका छन् ।
अर्थतन्त्र जोखिममुक्त भइनसकेपनि सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ । यसैगरी, मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको पनि उनले बताएका छन् । उनले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको धारणा राखे । कार्यबाहक प्रधानमन्त्री खड्काले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
उनले सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताए । यस्तै उनले गलत तरिकाले आमनागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रुपमा जवाफ दिन जरुरी रहेकोे बताए । उनले हजारौं नागरिकको बलिदान र लामो समयको राजनीतिक संघर्षबाट प्राप्त वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणालीभन्दा उन्नत रहेकाले यो शासन प्रणालीको विकल्प नरहेको दाबी गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरे । केही व्यक्तिले नेताहरुलाई भेट्दै १६ देखि १८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे । उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने भन्दै गत आर्थिक वर्षमा बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको बताए ।
पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए । अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाइ सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ छ ।
