युक्रेनमाथिको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन
रूसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले जनाएको छ ।
मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ ।
रूसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी विशेष सैन्य अभियान र नेटोको विस्तारसँग सम्बन्धित रुसमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको जनाएको छ ।
रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । नेटो गठबन्धनको आक्रामक गतिविधिको लागि रूसी सेनालाई बढाउनु उपयुक्त प्रतिक्रिया भएको रुसको दावी छ ।
