`

माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्छ – मन्त्री भुसाल

Nepal One HD १९ मंसिर २०८० १८:४२
राजनीति

काठमाडौँ, १९ मङ्सिर : कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा १०औँ विश्व माटो दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली माटोको गुणस्तरलाई उच्च राख्न कृषि भूमिको अनुपयुक्त प्रयोगलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

माटोमा रासायनिक मलभन्दा नदी खोलामा बगेको मलिलो पानी खेतबारीमा प्रयोग गर्न सके माटो सुधार हुने उहाँको भनाइ छ । मुलुकमा समृद्धि कायम गर्न उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै मन्त्री भुसालले त्यसका लागि माटोको गुणस्तरमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर राष्ट्रिय कृषि नीति छिट्टै ल्याउने तयारी भइरहेको बताउँदै उहाँले उक्त नीतिले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । साना किसानलाई संरक्षण गर्न उनीहरुको उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने बताउँदै उहाँले मूल्य श्रृङ्खलाबाट कृषि वस्तुको बजारीकरणको खाँचो औँल्याउनुभयो ।

नार्कअन्तर्गत माटो विज्ञान अनुसन्धान केन्द्रले विभिन्न कार्यक्रम गरी ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ माटो दिवस मनाएको छ ।


प्रतिक्रिया