`

छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाँदै

Nepal One HD २९ कार्तिक २०८३ ११:४५
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित आज जनकपुरधाम जाने भएका छन् । उनले ऐतिहासिक गंगासागरमा छठको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम छ ।

रास्वपा मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो २ देखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्ने तालिका छ । त्यसपछि साँझ ५ बजे छठ पर्वको खरना र पूजाको तयारीका लागि निर्धारित निवासतर्फ जानेछन् ।

आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले जनकपुरधाम तथा आसपासका धार्मिक स्थलको दर्शन र अवलोकन गर्नेछन् । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिर पुग्ने कार्यक्रम तय भएको छ ।

आइतबार दिउँसो ३ बजेदेखि गंगासागरमा आयोजना हुने छठ पूजामा सहभागी हुनेछन् । सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम रहेको प्रदेश कार्यालयले जनाएको छ ।

मधेश प्रदेश कार्यालयका महामन्त्री मानिकुमार साहले जारी गरेको सूचनामा पार्टीका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकलाई आवश्यक समन्वय गरी कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *