रुसमाथि आफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको बेलायतको आरोप
बेलायत सरकारले रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी अभियानमा संलग्न भएको आरोप लगाएको छ । रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आशङ्का गरिएको छ । विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ ।
यद्यपि उक्त हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ ।पछिल्लो दावीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लन्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयासहरू सम्पूर्णरूपमा अस्वीकार्य भएको उल्लेख गरेका छन् । क्यामरुनको कार्यालयले सेन्टर १८ बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेबार रहेको बताएको छ ।
