`

रुकुमपश्चिमका पत्रकार भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा जुटे

Nepal One HD २३ मंसिर २०८० २१:१९
समाचार

रुकुम, २३ मङ्सिर : रुकुमपश्चिमका पत्रकार भूकम्प प्रभावित क्षेत्रमा अस्थायी भावासमा जुटेका छन् । नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमको नेतृत्वमा जिल्लाको आठविसकोट नगरपालिका–११ रिठामा अस्थायी आवास निर्माणको काम थालिएको हो ।

चिसो बढ्दै गएको र भूकम्प प्रभावित पालमा बस्न समस्या भएकाले पत्रकार पनि अस्थायी आवासमा जुटेको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । “चिसो बढ्दै गएको छ । चिसोको कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । तत्काल अस्थायी आवासको आवश्यकता छ । अस्थायी आवास निर्माणमा हामीले पनि केही सहयोगका लागि यहाँ पुगेका हौँ”, उहाँले भन्नुभयो । 

जिल्लाका सबै पत्रकार अस्थायी आवास निर्माणमा जुटेका छन् । एक दिनमा पाँच वटा अस्थायी आवास निर्माणको योजना बनाएको महासङ्घ जिल्ला अध्यक्ष केसीले जानकारी दिनुभयो । “अस्थायी आवासको लागि केही राजनीति दलले स्वयंसेवक पनि परिचालन गरेका छन् । त्यो पनि प्रयाप्त छैन । सबै मिलेर भूकम्प पीडितलाई पालबाट अस्थायी आवासमा सार्न पर्छ । अस्थायी आवास निर्माण अभियानलाई सहयोग गर्न पत्रकारको टोली नि खटिएको हो”, अध्यक्ष केसीले भन्नुभयो । 

जिल्लाका भूकम्प प्रभावित ठाउँमा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प कारण घरवासविहिन भएका सर्वसाधरण विस्तारै त्रिपालबाट अस्थायी आवासमा सर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि अस्थायी आवास निर्माणको लागि पहिलो किस्ताको रकम पनि स्थानीय तहमा पठाइ सकेको छ । –

प्रतिक्रिया