पशुपति क्षेत्रमा बाला चतुर्दशीको लागि बत्ती बालेर जाग्राम बस्दै भक्तजन(फोटोफिचर)


काठमाडौं । बाला चतुर्दशीको लागि पशुपति क्षेत्रमा मानिसहरु बत्ती बालेर जाग्राम लागेका छन् । पशुपति क्षेत्रमा सोमबार बिहान सतबीज छर्नको लागि आइतबार बेलुकीदेखि नै मानिसहरू बत्ती बालेर जाग्राम बस्न लागेका हुन् ।
बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ । बाला चतुर्दशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास गरिन्छ । आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।
कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।


