`

क्षमता अभिवृद्धिमा आवधिक योजनाको जोड : परराष्ट्रमन्त्री साउद

Nepal One HD ३ पुष २०८० १९:४५
राजनीति

काठमाडौँ, ३ पुस : परराष्ट्रमन्त्री एनपी साउदले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्न निरन्तर जोड दिएको बताउनुभएको छ ।नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उहाँले आवधिक विकास योजनाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “मानव विकास सूचकाङ्क अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौँअघि पूरा गरेको पहिलो मापदण्ड थियो ।” संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज काठमाडौँमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले दिगो विकासको लक्ष्यबारे त्यस्तो तर्क गर्नुभएको हो ।बाह्य र आन्तरिक दुवै कारणले दिगो विकासका लक्ष्य प्राप्तिमा स्थिरता कायम गर्न नसकिएको मन्त्री साउदले बताउनुभयो । युएनडीपीको प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको उहाँले उल्लेख गर्नुभयो । हिमालय क्षेत्रका मुलुकले भोगिरहेका गम्भीर समस्याका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले हालै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताउनुभयो ।सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको बताउँदै परराष्ट्रमन्त्री साउदले उक्त अभियानमा युएनडीपी जस्ता महत्त्वपूर्ण साझेदारबाट निरन्तर सहयोग प्राप्त हरने विश्वास व्यक्त गर्नुभयो ।“नेपालको जनसङ्ख्यामा युवाको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसङ्ख्या हाम्रो सम्पत्ति हो”, उहाँले भन्नुभयो, “हामी हाम्रा युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौँ ।”


प्रतिक्रिया