`

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट धार्मिक स्वतन्त्रता प्राप्त’ – मुख्यमन्त्री शर्मा

Nepal One HD ६ पुष २०८० ६:३०
राजनीति

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा धार्मिक स्वतन्त्रता प्राप्त भएको बताउनुभएको छ ।

इसाई समाज सुर्खेतद्वारा ‘ख्रीष्टमस बडादिन तथा नव वर्ष २०२४’ को पूर्वसन्ध्यामा बिहिबार वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शर्माले जनयुद्धको जगमा भएको जनआन्दोलन र नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकले संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता प्राप्त गरेको जनाउनुभयो । ख्रीष्टमसलगायत पर्व एवं स्वतन्त्रताका साथ आफ्नो संवैधानिक अधिकार उपभोग गर्ने हक गणतान्त्रिक व्यवस्थाको उपलब्धि भएको उहाँले बताउनुभयो ।

“शासकले गलत गर्दा नि उत्तिबेला हामीले बोल्न पाउदैनथ्यौँ”, उहाँले भन्नुभयो, “आजको व्यवस्थाले हाम्रो स्वतन्त्रताको अधिकारलाई सुनिश्चित गरेको छ । जुन स्वतन्त्राले हाम्रो मौलिकता, धर्म, संस्कृति, संस्कारको प्रवर्द्धन र संरक्षण गरेको छ । खास धर्म मर्म भनेकै कसैलाई दुःख नदिने हुनुपर्दछ । यसका नाममा हुने सबैखाले विभेद अन्त्य गर्नुपर्दछ ।” नेपाली जनताले लडेर ल्याएको संविधान सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताको संस्थागत गर्न हामी सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

इसाई धर्मको मूल्यमान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्‍याएको बताउनुभएका मुख्यमन्त्री शर्माले खुशीसँग जोडिएको समृद्धि र सुखसँग जोडिएको आर्थिक सम्पन्नता अनि ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’ को लक्ष्य पूरा गर्ने अभियानमा सबै धर्मावलम्बीको सहयोग आवश्यक रहेको जनाउनुभयो ।

इसाई धर्मगुरु रेभरेन्ट पास्टर लील श्रीसले पुनरुत्थान र जीवन प्रभुमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पृथ्वीको अध्यात्मिक क्रान्तिकारी यशु हुन् । मानिसको पाप क्षमाका लागि उहाँले जीवन दिनुभयो । शत्रुलाई पनि प्रेम गर्न सिकाउने यशुको अर्तीले मानिस जातिको जीवनमा सत्कर्म गर्न सिकाएको छ । जसबाट आशा र उत्साह दुवै मिलेको अनुभूति हुन्छ ।” प्रमेश्वरको वचन पुगेको ठाउँमा सम्पन्नता प्राप्ति हुने पास्टर श्रीसको भनाइ थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले इसाई धर्मले मानव जातिलाई उच्च र वरिष्ठ दर्जामा राख्न तथा सही मार्ग देखाउन मद्दत गरेको बताउनुभयो । “विश्वासमा सबैभन्दा ठूलो तागत हुन्छ, जुन तागत क्रिश्चियनहरुमा पाइन्छ”, उहाँले भन्नुभयो, “मुलुकलाई पवित्रताको मार्गमा डोर्याउन क्रिश्चियन अगुवाहरुले अँझै अगुवाईको भूमिका खेल्नुपर्दछ । राज्यले धर्म, संस्कृति, भाषालाई सुरक्षित गर्दै जाँदा मुलुक समृद्ध हुने उहाँको जिकिर थियो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विक र प्रदेशसभा सदस्य बलिमाया बुढाले ख्रीष्टमसले जीवन र जगतमा रहेर काम गर्नेहरुलाई सत्कर्ममा जिउनुपर्दछ भन्ने सन्देश प्रवाह गरेको जनाउँदै सबैखाले धर्म, संस्कृति र संस्कार राज्यका सम्पति भएको बताउनुभयो ।


प्रतिक्रिया