२४ घन्टामा केरलामा कोरोनाबाट एकको मृत्यु, २६५ मा नयाँ संक्रमित थपिए
केरलामा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको र दुई सय ६५ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ का कूल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ९७ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार भारतमा पाँच सय ९४ ताजा कोभिड–१९ सङ्क्रमित रहेका थिए । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीबार दुई हजार तीन सय ११ बाट बढेर दुई हजार छ सय ६९ पुगेको थियो ।यसैबीच कोरोना भाइरसको नयाँ भेरिएन्ट देखा पर्न थालेसँगै बढ्दो चिन्ताका बीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का पूर्व प्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनले यो चासोको नभई चिन्ताको विषय भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले सावधानी अपनाएर सचेत भने रहनुपर्ने बताउनुभयो ।“हामीले सावधानी अपनाउन आवश्यक छ, तर यो भेरिएन्ट जेएन.१ गम्भीर छ वा मृत्युको कारक बन्न सक्छ भन्नेबारेमा सुझाव दिनका लागि कुनै तथ्याङ्क नभएकाले चिन्ता गर्न आवश्यक छैन”, उहाँले भन्नुभयो, “हामीले यसअघिको जस्तै सामान्य रोकथामका उपाय अपनाउने प्रयास गर्नुपर्छ भन्ने मलाई लागेको छ, हामी ओमिक्रोनसँग परिचित थियौँ, यो एउटै परिवारको भेरिएन्ट हो, त्यसैले धेरै परिवर्तन भएको छैन तर केही नयाँ परिवर्तन आएको छ । यसमाथि डब्लुएचओले ध्यान दिन आवश्यक छ ।”डब्लुएचओले हालै जेएन.१ लाई चासोको एक प्रकारका रूपमा वर्गीकरण गरेको छ, यो यसको मूल वंश बिए.२.८६ भन्दा भिन्न छ । यद्यपि उसले हालका प्रमाणका आधारमा जेएन.१ ले उत्पन्न गर्ने समग्र जोखिम कम भएको बताएको छ ।
