आर्कटिक पेनल कोलोनीमा स्थानान्तरण गरेपछि आफू ‘ठिक’ भएको नभाल्नीको भनाइ
रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले मङ्गलबार आर्कटिक सर्कलभन्दा बाहिरको पेनल कोलोनीमा २० दिनको ‘अत्यन्त थकाउने’ स्थानान्तरणपछि आफू ‘ठिक’ रहेको बताउनुभएको छ ।
दुई साताभन्दा बढी समयदेखि अज्ञात अवस्थामा रहेका क्रेमलिनका आलोचक नभाल्नी अहिले रुसको सुदूर उत्तरमा रहेको पेनल कोलोनीमा रहनुभएको र वकिलसँग भेट भएको उहाँका समर्थकहरूले सोमबार बताएका छन् । “मेरा बारेमा चिन्ता नलिनुहोस्, म ठिक छु, अन्ततः यस्तो गरेकामा मैले पूर्णरूपमा आराम गरिरहेको छु”, उहाँले जाडोका कपडा र दारीलाई उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “सान्ता क्लजका लागि जस्तै म अहिले पनि राम्रो मनस्थितिमा छु ।”
अमेरिकी विदेश मन्त्रालयले नभाल्नीको स्वास्थ्य र उहाँको अनुचित नजरबन्दको अवस्थाप्रति गहिरो चिन्तित बनाएको बताएको छ । विष दिएर हत्या गर्ने प्रयासबाट बचेपछि सन् २०२१ मा कारागार जानुअघि नभाल्नीले व्यापक स्तरको सरकार विरोधी प्रदर्शन गर्नुभएको थियो । उहाँले आफ्नो हिरासतको अधिकांश समय मस्कोबाट करिब दुई सय ५० किलोमिटर पूर्वमा रहेको भ्लादिमिर क्षेत्रमा आइके–५ पेनल कोलोनीमा बिताउनुभएको छ ।
अगस्टमा एक अदालतले चरमपन्थीको आरोपमा उहाँको सजायलाई १९ वर्षसम्म बढाउँदै उहाँलाई सामान्यतया विशेषरूपमा खतरनाक कैदीहरूलाई राखिने कठोर ‘विशेष शासन’ कारागारमा राख्ने फैसला गरेको थियो । उहाँको अघिल्लो हिरासतमा राखिएको स्थानको विशेषता भनेको कुनै पनि पत्र इमेलको सट्टा नियमित हुलाक सेवामार्फत नभाल्नीसम्म पुग्न धेरै समय लाग्नेछ ।
सहयोगीहरूका अनुसार उहाँको स्थानान्तरण रुसमा आगामी राष्ट्रपति निर्वाचनसँग जोडिएको हुनसक्छ । यसअघि क्रेमलिनका धेरै आलोचकहरू कारागारमा परेका छन् वा भागेका छन् ।
नभाल्नीले एक्समा उहाँ शनिबार खार्प गाउँमा आर्कटिक पेनल कोलोनी आइपुगेको र सोमबार आफ्ना वकिलसँग भेट गरेको बताउनुभएको छ । सोभियत कालमा कैदीहरूलाई टाढा टाढाका स्थानमा रेलमाफर्त लगिने गरेकाले रुसमा कैदीहरूको स्थानान्तरणमा धेरै साता लाग्न सक्छ ।
“मैले जनवरीको मध्यअघि कसैले मलाई यहाँ भेट्टाउने अपेक्षा गरेको थिइनँ”, उहाँले लेख्नुभएको छ । उहाँले बरफले ढाकिएको सेलबाहेक वरपर केही नदेखेको बताउनुभएको छ । “दुर्भाग्यवश त्यहाँ कुनै बाह्रसिंगा छैनन् तर ठूला र सुन्दर गोठाला कुकुर छन्”, उहाँले भन्नुभएको छ ।
आगामी दिनमा खार्पमा तापक्रम शून्यदेखि माइनस २६ डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ ।
