`

ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनमा सरकारले सघाउने

Nepal One HD ११ पुष २०८० १९:२३
राजनीति

काठमाडौँ, ११ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आचार्यले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन यापनमा सघाउनु समाजका सबै वर्गको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको विज्ञता, अनुभव, सीप र दक्षता राष्ट्रका निम्ति सधैँ उपयोगी छन् । उहाँहरूको सम्मानजनक जीवनयापनको वातावरणको निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।”

उक्त मन्त्रालयका सचिव सुमनराज अर्यालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामात्र नभई उनीहरुको आत्मसम्मानमा आँच आउने काम कहिँकतैबाट भएमा त्यसो गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

काठमाडौँ मेडिकल कलेजका डा अनन्त अर्यालले ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै बुढ्यौली रोग नभइ अवस्था भएकाले पूर्ण सन्तुलित आहार, शारीरिक व्यायाम, योग ध्यान, सक्रिय जीवनशैली, पर्याप्त शयनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।


प्रतिक्रिया