`

सरकारले सामाजिक न्याय, सुशासनलाइ प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD १८ पुष २०८० १३:४९
राजनीति

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाइ प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा १६ औं राष्ट्रिय इन्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताएका हुन् ।

सरकारको लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्ने उनले बताए । उनले ठूला ठूला आयोजनाको निर्माणलाई अघि बढाएर मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने धारणा राखे ।

सडक, लोकमार्ग, उर्जा, विद्युत, सञ्चार, विमानस्थल, सिंचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरु गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सकेमात्र आर्थिक विकासको ढोका खुल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताए । नेपालको राजनीति संक्रमणकाल पार गरी स्थायित्वतर्फ अग्रसर भएको भन्दै उनले दलहरूले गरेको प्रतिवद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया