`

फाइनलमा कोशीलाई हराउँदै एपीएफले उचाल्यो उपाधि

Nepal One HD १८ पुष २०८० १४:१२
खेलकुद

काठमाडौ । कोशी प्रदेशलाई ११ रनले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एकसय तीन रनमात्र जोड्न सक्यो ।

कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले ६२ रनको योगदान गरिन् । टोलीकी कप्तानसमेत रहेकी अनुभवी खेलाडी रुविनाले केवल ५८ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काइन् । अर्की ओपनर अप्सरी बेगम भने ८ रनमात्रै जोडेर रन आउट भइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी काजल श्रेष्ठले २२ रन बनाइन् । एपीएफ क्लबकी बलर सीता रानामगर र करुणा भण्डारीले एक–एक विकेट लिए । त्यसअघि एपीएफ क्लबका लागि इन्दू बर्माले अर्धसतकीय पाली खेलेकी थिइन् । उनले टोलीका लागि ५३ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दूले केवल ४७ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काएकी थिइन् ।


प्रतिक्रिया