`

ग्लोबल आइएमई बैंकद्वारा २५३ कर्मचारीलाई सम्मान

Nepal One HD १८ पुष २०८० १८:४३
अर्थ समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्थापनाको १७औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीहरूलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन् ।

अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै लक्ष्य प्राप्तिभन्दा मेहनत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरूलाई आग्रह गरे ।

कर्मचारीको अथक मेहनत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्याएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गरे ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया