`

अनलाइन जुवा खेलाउने युवकले डेढ अर्बको कारोबार गरेको फेला

Nepal One HD १६ माघ २०८० १८:०६
समाचार

विराटनगर । प्रहरीले अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाउने डम्बरबहादुर साहलाई इलामबाट पक्राउ गरेको हो । उनले अनलाइन जुवा खेलाउँदा करिब डेढ अर्बको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराज–१० का साहले आफ्नो कम्पनीमार्फत सन् २०२१ यता अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि एक अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पाइएको छ । उनले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टोकरेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया