मन्त्री फेरबदलको चर्चाले रास्वपामा अर्को विवाद
काठमाडौं। चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपछि पार्टीभित्र आन्तरिक विवाद बढ्न सक्ने संकेत देखिएको छ।
एक उच्च स्रोतबाट सार्वजनिक भएको जानकारीअनुसार सभापति रवि लामिछानेले महाधिवेशनअघि केही नेताहरूलाई दिएको आश्वासन कार्यान्वयनको विषयमा मतभेद देखिएको हो।
स्रोतका अनुसार रवि लामिछानेले केही मन्त्री हेरफेरको प्रस्ताव अघि सारेका छन्। उद्योगमन्त्री गौरी कुमारीको स्थानमा गणेश पराजुली तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको स्थानमा समीक्षा बाँस्कोटालाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरिएको बताइएको छ।
तर बालेन पक्षले पटक-पटक मन्त्री परिवर्तन गर्नु उचित नहुने भन्दै त्यसमा असहमति जनाएको दाबी गरिएको छ।
महाधिवेशनका क्रममा उम्मेदवारी फिर्ता लिएका केही नेताहरूलाई जिम्मेवारी दिने विषयमा पनि पार्टीभित्र चर्चा भइरहेको स्रोतको भनाइ छ। प्रवक्ताको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिने तयारी रहेको दाबी गरिए पनि यसबारे पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी वा सम्बन्धित नेताहरूले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।

विवाद होइन त्यो छलफल हो