आफ्नै साथीले नक्कली प्रहरी बनाएर लुट्न पठाएपछि…
काठमाडौं । काठमाडौंको वनस्थली क्षेत्रमा ‘हामी प्रहरी हौँ’ भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएर हतकडी लगाई १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन र बैंकका चेक लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले चार जनालाई पक्राउ गरेको छ। घटनामा पीडितकै चिनजानका व्यक्ति समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका थिए। उनी काठमाडौं बसाइका क्रममा आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको वनस्थलीस्थित डेरामा बसिरहेका थिए।
गत असार ९ गते साँझ करिब ७ बजेतिर पाँच-छ जनाको समूह त्यहाँ पुगेको थियो। उनीहरूले आफूहरू प्रहरी भएको परिचय दिँदै धनबहादुरलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि उनलाई हतकडी लगाएर डर र त्रास देखाउँदै साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष टोली परिचालन गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा असार १४ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारेर घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको धापासी बस्दै आएका ४३ वर्षीय रामशरण दमाई, काठमाडौंको टोखा नगरपालिका–१ निवासी ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्दै आएकी ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
प्रहरीका अनुसार शेरबहादुर मोक्तान पीडित धनबहादुरका चिनजानका साथी हुन्। अनुसन्धानबाट उनले नै पीडितलाई काठमाडौं बोलाउने, बस्ने व्यवस्था मिलाउने र त्यसपछि लुटपाटको योजनामा सहयोग गरेको आशंका गरिएको छ। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको देखिएकाले फरार आरोपितहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको रकममध्ये एक हजार दरका दुई सय थान नोट अर्थात् दुई लाख रुपैयाँ बरामद गरेको छ। लुटिएको बाँकी रकम र अन्य सामग्रीको खोजी भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ। उनीहरूमाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ। उनीहरूको खोजी तथा लुटिएको सम्पूर्ण रकम बरामद गर्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।
