`

सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक : डा कोइराला

Nepal One HD २१ माघ २०८० ७:०७
राजनीति

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै पनि देशको विकास गर्नका लागि खेलकुद क्षेत्रकोे विकास आवश्यक रहेको बताउनुभएको छ ।तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहमा उहाँले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताउनुभएको हो । “खेलकुद क्षेत्रको विकासका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्न सकेको छैन, अहिले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रको विकास हुन सक्दैन”, उहाँले भन्नुभयो । खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।

नेता डा कोइरालाले खेलकुदको विकास गर्नसके मात्रै युवाहरू आकर्षित र अनुशासित हुने बताउनुभयो । खेलकुद क्षेत्रलाई सबै राजनीतिकर्मीले महत्त्वपूर्ण विधाका रूपमा लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले खेलकुद पढाइजत्तिकै महत्त्वपूर्ण भएकाले अनुशासित भएर खेल खेलेमात्र देशको नाम विश्वस्तरसम्म राख्न सकिने बताउनुभयो । नेता डा कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रको बजेट बढाउने गरी आफूले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया