‘लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण’- पूर्वराष्ट्रपति भण्डारी
मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सव एवं सम्मान कार्यक्रमको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशका जनताले गरेको आन्दोलनका कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका वीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताउनु भयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैँका लागि बन्द गरेको बताउनुभयो ।
उक्त दैनिकका प्रधानसम्पादक एवं रासस सञ्चालक समितिका सदस्य शङ्कर खरेलले आगामी वर्ष आफ्नो पत्रिकाले दैनिकले युवा वर्षका रुपमा मनाउने बताउनुभयो ।वरिष्ठ कलाकार नीरविक्रम शाह, नायक विश्व बस्नेत, वरिष्ठ लोकगायक कुमार बस्नेत,अभिनेत्री शर्मिला मल्लले सम्पूर्ण राष्ट्रिय एकताका निम्ति नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
