`

अरुण चौधरीलाई छाड्न आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

Nepal One HD २९ माघ २०८० १२:२३
प्रमुख खबर

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने जिल्ला काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु सरुवा भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप मुगु सरुवा गरेका हुन् । आचार्यलाई मुगु पठाएर मुगुका न्यायाधीश रमाकान्त अधिकारीलाई सिन्धुली सरुवा गरिएको छ ।

यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माघ १८ गते चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। चार दिनको म्याद सकिएपछि सीआईबीले उनीहरुलाई पुनः म्याद थपका लागि माघ २२ गते, सोमबार अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला न्यायाधीश आचार्यको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो । अदालतको आदेशसँगै चौधरी माघ २४ गते रिहा भएका थिए । तर सीआईबीले चौधरीसहित ३ जना विरुद्धको अनुसन्धान भने जारी रहेको जनाएको छ।


प्रतिक्रिया