नामिबियासंग नेपाल पराजित


काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । त्रिवि मैदान किर्तिपुरको भएको खेलमा नामिबियासंग नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा पुरा गरेको हो ।
नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । टस जितेर पहिले बलिङ गरेको नामिबियाविरुद्ध नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सबैभन्दा बढी ४४ रन बनाएका थिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् ।
गुलसन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ रन बनाए । पवन शर्राफले १२ रन बनाएर आउट भए ।
नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २/२ विकेट लिए । खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर ट्रम्पेलम्यानको दोस्रो शिकार बने ।