`

विवादित मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

Nepal One HD १३ फागुन २०८० ११:४३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

उनले बालकुमारी घटनाका दोषी भौतिक मन्त्री प्रकाश ज्वाला र बालकुमारी घटनामा दुई जनालाई कत्लेआम गर्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

त्यस्तै, गिरीले अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेत पनि पदमा बहाल गर्न नमिल्ने भन्दै उनलाई बर्खास्त गर्न माग गरे । गिरीले पुरातात्विक क्षेत्र रामग्रामलाई एउटा निजी कम्पनीलाई ९९ वर्ष लिजमा दिने जस्तो बदनियतपूर्ण काम गरेको भन्दै पर्यटन मन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल कारबाही गर्नुपर्ने र बर्खास्त गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन् । विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस् ।’

दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ । स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् ।

बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन् । सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

गत फागुन ६ गतेको संसद् बैठकदेखि लगातार संसदमा एमालेले बालकुमारी घटनाका दोषीलाई कारबाही, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई सरकारबाट हटाउन, रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा सहभागी भएको भन्दै पर्यटनमन्त्री सुदन किराँती र अख्तियारमा बयान दिन गएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउन दबाब दिँदै आएको छ ।


प्रतिक्रिया