`

निगमको जहाज खरिदमा कमिसनको खेल भइरहेको खतिवडाको दाबी

Nepal One HD १३ फागुन २०८० १३:०८
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज खरिद प्रक्रियामा कमिशनको खेल भइरहेको आरोप लगाएका छन् ।

आइतबारको प्रतनिधिसभा बैठकमा सांसद खतिवडाले जहाज खरिद गर्न लगाएर कमिसनको दाउमा केही व्यक्ति लागेको आरोप लगाएका हुन् । उनले उत्पादन नै हुन छाडेका जहाजका लागि टेण्डर आह्वान गरिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्छ भनेर लाग्नुभएको छ । तर रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज अहिले प्रोडक्सनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।’

उनले नेपाल एयरलाइन्समा ३१ अर्ब सरकारको लगानी रहेको तर ४८ अर्ब घाटामा रहेको उनले बताए । चार वर्षदेखि ब्याज तिर्न नसकेको तर पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारी राखेको उनले बताए ।

सांसद खतिवडाले पर्यटनमन्त्री सुदन किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर सस्तो लोकप्रियतमा लागेको टिप्पणी गरे ।

उनले भने, ‘मन्त्रीज्यू, सुधार गर्न लागेको भन्दै झाडु र क्यामेराबाट फोटो खिचेर बाहिर ल्याउनुपर्छ ? सस्तो पपुलारिजमका लागि कार्यालय सफा गर्न टिभी लिएर गएर क्रान्तिकारी हुने हो ?’


प्रतिक्रिया