राजसंस्था पुनःस्थापना रापपाको असान्दर्भिक मुद्दा


ऋषि कट्टेल ।
राप्रपा नाम गरेको सामन्तवादका तावेदारहरु राजतन्त्रको पुनःस्थापनाको काल्पनिक नारा लिएर सडक आन्दोलनमा ओर्लने कुरा गरिरहेका छन् । झण्डै ४०० वर्ष अघि वेलायतको राजा फर्किएको कुतर्क अगाडि सारेर उनीहरु राजा फर्कने कुरा गर्दैछन् । यस्तो हावादारी कुराको पछाडि लाग्ने एउटा जमात पनि देखापरेको छ । राजालाई विष्णुको अवतारको रुपमा लेखिएका कथित शास्त्रहरु, रुढीवाद र अन्धविश्वासमा अझै जकडिइरहेको नेपाली समाज, हिन्दूवादको संरक्षक ठान्ने, हजारौ वर्षदेखिको सामन्ति शासनको समर्थकहरुको झुण्ड देखेका परिवर्तन विराधी र समाज बदल्ने एजेण्डाविहीनहरुले जनमत आफ्नो पक्षमा छ भन्ने गुड्डी हाक्ने कुरा प्रहसन बाहेक केही हैन । किनकी दशकौंको राजनीतिक संघर्ष र विकासित हुदै गएको चेतना स्तरले मानव जातिलाई पछाडि फर्कने अनुमति दिँदैन ।
तथ्यहरुले र जनमतले पनि के प्रमाणित गर्दछ भने राजतन्त्रको पुनःस्थापना अब नेपालमा कल्पनाको विषय मात्र हो । त्यसो भए किन यो मुद्दा लिएर एउटा झुण्ड सडकमा आउने घोषणा गर्दैछ ? उत्तर प्रष्ट छ यो झुण्ड राजतन्त्रको पक्षमा रहेको माथि उल्लेखित शक्तिहरुको माध्यमबाट आफ्नो भोट व्यापार गर्नु र असफल भैरहेको वर्तमान व्यवस्था र सत्तासिनहरुको रक्षा गर्नु । कथित राजावादीहरु वर्तमान सत्तासिनहरुका मतियार हुन् ।
किनकी सत्तासिनहरु असफल भैसकेका छन् । उनीहरु अब जोगिन सक्दैनन् । यस्तो बेला असान्दर्भिक मुद्दा उठाएर जनताको सत्ता विरोधी संघर्षको दिशालाई अन्यत्र मोड्नु सिवाय सत्तासिनसँग अरु बाटो छैन । यो कथित राजतन्त्र पुनःस्थपाना आन्दोलन उनीहरुको रक्षा कवच बन्न सक्दछ । देशलाई गणतन्त्र की राजतन्त्रको दुई कित्तामा बाँडेर आफू गणतन्त्रको पक्षधर देखाउँदै गणतन्त्रवादी जनमत आफ्नो पक्षमा लिने सत्ता जोगाउने षड्यन्त्रको गोटीको रुपमा आएको छ यो कथित राजतन्त्र पुनःस्थापनाको नारा । यसकारण यो झुण्ड सत्ताको मतियार सिवाय अरु केही हैन ।