गगनको प्रस्तावः अख्तियारले डामेका, आयोगले पोलेदेखि सहकारी ठग र दोहोरो नागरिकताधारीलाई घर फर्काइदिउँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाउनुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले अख्तियारले डामेका, आयोगले पोलेका र सरकारी जग्गामा आँखा गाड्नेवालाको झण्डा छोपेर घर पठाउनुपर्ने बताएका हुन् ।
उनले यस्ता व्यक्तिलाई आसनको दायाँ बसेको भनी हेर्न नहुने बताए । उनले भने, ‘सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झन्डा छोपेर घर पठाइदिउँ । यति गर्न सके के होला ? निर्दोष भए फर्केर आउनुहोला। फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नुहोला।’
उनले केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले मूल विषय छायामा परेको बताए ।
