हुम्लाको सिमकोट गाउँपालिकाका वडाध्यक्षद्वारा एक सय परिवारलाई खाद्यान्न सहयोग
सिमकोट (हुम्ला)- हुम्लाको सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोरख लामाले आफ्नो वडाका एक सय परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । उहाँले प्रत्येक परिवारलाई पाँच किलो पिठो, पाँच किलो नुन र एक लिटर खानेतेल सहयोग गर्नुभएको हो ।
वडाध्यक्ष लामाले आफू निर्वाचित भएदेखि हालसम्मको पारिश्रमिक रकममध्येबाट वडावासीलाई खाद्यान्न सहयोग गर्नुभएको हो । रु चार लाख ५० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको वडाध्यक्ष लामाले बताउनुभयो । वडा नं १ का ठेहे, बैजीबाडा र दोजाम गाउँका अति विपन्न १५ परिवारलाई एक–एक बोरा चामल सहयोग गरेको उहाँले बताउनुभयो ।
यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गरी ढुवानी अनुदानमा चामल गाउँमै पुर्याएको वडाध्यक्ष लामाले बताउनुभयो । सदरमुकाम सिमकोटदेखि ठेहे–दोजामसम्म एक बोरा चामलको ढुवानी खर्च रु एक सय ५० लाग्छ । सो ढुवानी खर्च उहाँले आफूले तिरेको बताउनुभयो । ठेहेमा एक सय तथा दोजाम र बैजीबाडा गाउँमा एक सय १५ परिवारको बसोबास रहेको छ ।
