`

सत्ता समीकरणमा आएको परिवर्तन नेपालको आन्तरिक मामिलाः राजदूत श्रीवास्तव

Nepal One HD २४ फागुन २०८० १८:०८
प्रमुख खबर

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे ।

उनले भने, ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो । यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए । श्रीवास्तवले नेपाल–भारतबी सम्बन्ध मौलिक रहेको चर्चा गरे । उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताए ।


प्रतिक्रिया