डढेलो र आगलागीका घटना बढे, जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार भएको जनधनको क्षतीमा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन नागरिकमा अनुरोध गरेका हुन् ।
“भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट जनधनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ । घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु”, उनले भनेका छन् । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा उदयपुर, काठमाडौँ, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन् । केही ठाउँमा मानव बस्ती नै विस्थापित भएको छ ।
