`

गृहमन्त्री आफूमाथिको आरोप ढाकछोप गर्न लाग्नु आपत्तिजनकः सीपी मैनाली

Nepal One HD ११ चैत २०८० १२:२९
राजनीति

काठमाडौं । नेकपा मालेले गृहमन्त्री रवि लामिछानेले आफूमाथिको आरोपलाई ढाकछोप गर्न थालेको भन्दै त्यसलाई निन्दनीय भनेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गरी आफूमाथिको आरोप ढाकछोप गर्न गृहमन्त्री बनेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ। यो निन्दीय छ ।’

विज्ञप्तिमा भ्रष्टाचार र अनियमितताका गम्भीर अपराधहरूमा ढाकछोप तथा संसदवादी दलहरूबीच ’तैंचुप मैचुप’को स्थितिले जनताको ध्यान मूल समस्याबाट पन्छाउने प्रपञ्च भइरहेको उल्लेख छ ।

विज्ञप्तिमा यही फागुन २१ गते परिवर्तन भएको सत्ता गठबन्धनका विषयमा पनि टिप्पणी गरिएको छ , विज्ञप्तिमा भनिएको छ, ‘हस्तक्षेपकारी बाह्य शक्तिको चलखेल र एमाले–माके गठबन्धनभित्रका अन्तर्विरोधहरूले गर्दा परिवर्तनशील बनेको संसदीय जोड घटाउको कारण वर्तमान सरकार ढिलोचाँडो ढल्न सक्ने खतरा रहेको छ। यो सम्भावनाको महत्त्वपूर्ण पाटो बनेको छ ।’


प्रतिक्रिया