`

संसद अधिवेशन हठात अन्त्य गरेर सरकार गैरजिम्मेवार देखियोः कांग्रेस

Nepal One HD २ वैशाख २०८१ ११:२४
राजनीति

काठमाडौं । नेपाली कांग्रेसले संसदको चालु अधिवेशन अन्त्य गरी सरकारले अलोकतान्त्रिक व्यवहार देखाएको टिप्पणी गरेको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले दुई दिनमात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

उनले भने,‘कांग्रसले संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण दुई दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

बैठकले सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा पनि सरकार सदनबाट भागेर हिँडेको निष्कर्ष निकालेको छ ।

लेखकले भने,  ‘जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना ठगी भएको कार्यमा सरकारका मन्त्री संलग्न रहेको विषय घामजस्तै छर्लङ्ग छ । सरकार उक्त विषयमा तथ्यपरक ढंगले संवाद नगरी जनताका सवालमा गैर जिम्मेवार हुँदै संसद अधिवेशन अन्त्य गरेर भाग्नुले पनि यसलाई पुष्टि गरेको छ ।’


प्रतिक्रिया