पत्रकारमाथि इरानले गरेको दुव्र्यवहारको निन्दा गर्न बीबीसीको आग्रह


इरानले आफ्ना केही फारसी भाषाका पत्रकारलाई राज्यविरुद्ध ‘दुष्प्रचार’ गरेको आरोपमा दोषी ठहर गरेपछि बीबीसीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका विज्ञहरूलाई आफ्ना केही फारसी भाषाका पत्रकारहरूलाई ‘निशाना र उत्पीडन’ गरिएकोमा निन्दा गर्न आग्रह गरेको छ ।
बीबीसीका अनुसार फेब्रुअरीमा एउटा ‘ह्याकिङ’ समूहले प्रकाशित गरेको कागजातले बीबीसी न्यूज पर्सियनका केही वर्तमान र पूर्वपत्रकारहरूलाई फेब्रुअरी २०२२ मा इरानी अदालतले ‘इस्लामिक गणतन्त्र इरान’विरुद्ध गरेको आरोपमा दोषी ठहर गरेको देखिन्छ । बीबीसीका तर्फबाट वकिलहरूले पाँच जना विशेष प्रतिवेदकलाई उजुरी दिएका छन् ।
प्रतिवेदकहरू अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार र सारांश वा स्वेच्छाचारी मृत्युदण्डजस्ता क्षेत्रहरूमा स्वतन्त्र विशेषज्ञहरू हुन् र उनीहरूले संयुक्त राष्ट्रसङ्घका लागि बोल्दैनन् तर उनीहरूको निष्कर्षहरू रिपोर्ट गर्छन् । “हालैका घटनाक्रमहरूले हाम्रा बीबीसी न्यूज फारसी कर्मचारीहरूले दैनिक रूपमा सामना गरिरहेको गम्भीर स्थितिलाई अझ बढाएको पुष्टि गरेका छन् भने उनीहरूलाई पत्रकारिता र व्यावसायिकता अभ्यास गरेकै कारण दण्डित गरिएको छ,” ‘बीबीसी वल्र्ड सर्भिस’ का निर्देशक लिलियन ल्यान्डरले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी संयुक्त राष्ट्रसङ्घका विज्ञहरूलाई इरानी अधिकारीहरूको उत्पीडनको कडा शब्दमा निन्दा गर्न र शासनलाई जवाफदेही बनाउन आग्रह गर्दछौँ ।” बीबीसीका लागि काम गरिरहेका वकिल काओइलफियोन ग्यालाघर र जेनिफर रोबिन्सनले बीबीसीविरुद्ध इरानले राष्ट्रिय सुरक्षा र आतङ्कवाद विरोधी कानूनको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
“इरानबारे ‘स्वतन्त्र रिपोर्टिङ’ गरेको र राज्यविरुद्ध ‘सङ्गठित प्रचारबाजी’ गरेको आरोपमा बीबीसी न्यूजका फारसी पत्रकारहरूलाई दोषी ठह¥याइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यो इरानबारे बीबीसीको पत्रकारितालाई धम्काउने र चुप लगाउने उद्देश्यले गरिएको हो । “हामी संयुक्त राष्ट्रसङ्घलाई यस्ता गैरकानुनी कार्यको कडा शब्दमा भत्र्सना गर्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
बीबीसीका अनुसार सन् २०२२ को सेप्टेम्बरदेखि इरानमा भएको व्यापक विरोध प्रदर्शनपछि कर्मचारीलाई लक्षित गर्ने र धम्क्याउने कार्य नाटकीय रूपमा बढेको छ । यसअघि सन् २०२० मा संयुक्त राष्ट्रसङ्घका चार जना विज्ञले संयुक्त वक्तव्य जारी गर्दै बीबीसीका पत्रकार र उनीहरूका परिवारमाथि भइरहेको व्यवहारप्रति ‘चिन्ता’ व्यक्त गरेका थिए ।
गत महिना बेलायतस्थित फारसी भाषाको इरान इन्टरनेसनलका प्रस्तोता पोरिया जेरातीको लण्डनस्थित घरबाहिर दुई जना आक्रमणकारीले छुरा प्रहार गर्दा खुट्टामा चोट लागेको थियो । प्रतिआतङ्कवाद गुप्तचरहरूले आक्रमणको अनुसन्धान गरिरहेका छन् र उहाँमाथि आक्रमण गर्ने आक्रमणकारीहरू सीधै हिथ्रो विमानस्थलमा गएको र केही घण्टाभित्रै देश छोडेको बताएका छन् ।सन् २०२४ मा बीबीसी न्यूज पर्सियनका कर्मचारीहरूले गरेको एक सर्वेक्षणमा आधा उत्तरदाताहरूले बीबीसीमा काम गरेकै कारण अनलाइन धम्की वा उत्पीडनमा परेको बताएका बीबीसीले जनाएको छ ।