`

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

Nepal One HD २४ वैशाख २०८१ ११:५२
प्रमुख खबर

काठमाडौँ । सभामुख देवराज घिमिरले भोलि बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएका सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरु हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन् ।

सभामुख घिमिरले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग–अलग छलफल भएको थियो ।

संसदको बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुँदैछ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरुसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग–अलग भेट गरिरहेका छन् । आफू सभामुखमा निर्वाचित भएको १५ महिनामा घिमिरेले नौ पटक शीर्ष बैठक डाकेका छन् ।


प्रतिक्रिया