`

विद्यार्थीहरूद्वारा विराटनगरमा सरकारी गाडीमा आगजनी

Nepal One HD २७ जेठ २०८१ १२:२५
प्रमुख खबर

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु सदस्य दीपक यादवको रिहाइ माग गर्दै विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी गरेका छन् ।

विद्यार्थीले आइतबार विराटनगरस्थित क्याम्पस अगाडी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्करपियो गाडीमा आगजनी गरेका हुन् ।

रंगेली नगरपालिकामा भएको अपारदर्शी गतिविधिको विरोध गरिरहँदा स्ववियु सदस्य यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा विद्यार्थी आन्दोलित भएका स्ववियु सभापति जसवन्त पौडेलले बताए ।

यसक्रममा विद्यार्थीहरूले ६ वटा गाडीमा आगजनी र तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको गाडी क्याम्पसको मुलद्वारअघि तोडफोड गर्दै आगजनी गरिएको हो ।

त्यसैगरी, नेकपा एमाले जिल्ला पार्टी कार्यालय नजिक एक पार्टी प्यालेसमा पार्किङमा राखिएको ५ वटा गाडी तोडफोड भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यक्रम चलिरहँदा राखिएको गाडीमा तोडफोड भएको हो ।

क्याम्पस सभापति पौडेलका अनुसार रंगेली नगरपालिकाले शिक्षक नियुक्ति, नीजी विद्यालयको शुल्क कम गनुपर्ने विषयमा केही दिनअघि अपरादर्शी रूपमा काम गरेको जनाउँदै स्थानीय विद्यार्थीहरुले विरोध गरेका थिए।

घटनामा ४ जना नगरप्रहरी घाइते भएका थिए। घटनामा संलग्न भएको भन्दै प्रहरीले यादवसहित ६ जनालाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया