श्रीलङ्काको नौसेनाद्वारा नेदुन्थिवु नजिकै तामिलनाडुका २२ मछुवा पक्राउ


श्रीलङ्काको नौसेनाले आइतबार तामिलनाडूका २२ जना मछुवालाइ श्रीलङ्काको जलक्षेत्रमा नेदुन्थिवु नजिक माछा मार्ने क्रममा पक्राउ गरेको रामेश्वरम फिशरम्यान एसोसिएसनले जनाएको छ ।
पाल्कबे सागर क्षेत्रमा रहेको नेदुन्थिवु नजिक माछा मार्ने क्रममा श्रीलङ्काली नौसेना आज बिहानै उक्त क्षेत्रमा आइपुगेको र थाङ्गाचिमाडमका माछा मार्ने तीनवटा डुङ्गालाई नियन्त्रणमा लिएको एसोसिएसनले जनाएको छ ।
यसअघि जुन १९ मा तामिलनाडूका मुख्यमन्त्री एमके स्टालिनले केन्द्रीय विदेशमन्त्री एस जयशङ्करलाई श्रीलङ्काले पक्राउ गरेका सबै मछुवा र माछा मार्ने डुङ्गालाई तत्काल रिहा गर्नके लागि पत्र लेख्नुभएको थियो ।
मुख्यमन्त्रीले भन्नुभयो, “त्यस्ता घटनाहरूले मछुवाहरूको जीविकोपार्जनमा बाधा पु¥याउँछ र सम्पूर्ण माछा मार्ने समुदायमा ‘डरको भावना’ र ‘अनिश्चितता’ पैदा गर्छ ।”
यसअघि अप्रिल महिनामा तामिलनाडूका १९ जना मछुवालाई श्रीलङ्काको कोलम्बोबाट एयर इन्डियाको यात्रुवाहक विमानमा चेन्नाई पठाइएको र मार्च ६ मा श्रीलङ्काली नौसेनाले सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो ।
माछा मार्ने परिवारले श्रीलङकाली नौसेनाले गिरफ्तार गरेका मछुवाहरूलाई रिहा गर्नका लागि केन्द्र र राज्य सरकारलाई कारबाही गर्न अनुरोध गरेका थिए ।