`

राप्तीमा बेपत्ता दुईजनाको शव फेला

Nepal One HD २३ असार २०८१ १०:१८
प्रमुख खबर

शिवु खनाल, देउखुरी । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिवार राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्ती निवासी ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।

आइतबार विहान बेपत्ता भएको स्थानदेखि करिब पाँचसय मिटर खोलाको बगरमा चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव फेला परेको जानकारी दिए । उनले आइतबार बिहान ७ः ३० बजेको समयमा बेपत्ता भएको हस्नापुर घाटदेखि करिब एकसय ५० मिटर पश्चिम तर्फ खोलाको बगरमा यादवको शव फेला परेको जानकारी दिए ।

शनिबार उक्त घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको थियो भने १७ वर्षीय राजकुमार यादव राप्ती नदीमा आएको बाढीले बगाएको थियो ।


प्रतिक्रिया