स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
राजनीति
वीरगञ्ज (पर्सा), २५ भदौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।आज यहाँ नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पार्नुभएको हो ।
“मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यकपर्ने जनशक्ति छैनन् । एकैपटक सय जना डाक्टर र नर्सकोे दरबन्दी सिर्जना गरेर सयौँ जनशक्तिलाई नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो । तर राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन”, मन्त्री पौडेलले भन्नुभयो ।
उहाँले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताउनुभयो । “देशैभरिका अस्पतालमा उपकरण भरिभराउ गराउ भन्ने रहर नभएको होइन । तर, अहिलेको आर्थिक अवस्थाले त्योअनुसारको खर्च गर्नसक्ने अवस्था भने छैन”, उहाँले भन्नुभयो, “त्यसैले अहिले जेजस्तो पूर्वाधार छ, त्यसलाई नै व्यवस्थित गर्र्नेतर्फ अग्रसर हुन जरुरी छ ।”
मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।
“नारायणी अस्पतालले आफैँ आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “वीरगञ्ज जस्तो औद्योगिक र व्यापारिक सहरमा स्रोतको कुनै कमी छैन । त्यसैले पनि तपाईंहरुले अस्पताललाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुनेतर्फ आवश्यक योजना ल्याउन अनुरोध गर्दछु ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
