गण्डकी प्रदेशद्वारा अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी : मुख्यमन्त्री पाण्डे
राजनीति
गण्डकी, २७ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अपाङ्गतासम्बन्धी ऐन ल्याउने तयारी गरेको बताउनुुभएको छ । राष्ट्रिय अपाङ्ग कोषद्वारा आज पोखरामा आयोजित ह्विलचेयर वितरण कार्यक्रममा उहाँले अपाङ्गतासम्बन्धी ऐनको तयारी भइरहेको बताउँदै प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताउनुुभयो ।
यसका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताउँदै उहाँले भन्नुुभयो, “यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति छ ।”
अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरणलगायत काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालयमार्फत प्रदेश सरकारले गरिरहेको उहाँले बताउनुुभयो ।
अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको र यस विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उहाँले लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा विशेष ध्यान दिइएको बताउनुुभयो ।
जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारका लागि बहस, पैरवी, समुदायमा आधारित पुनःस्थापना, बीउ पुँजी वितरणलगायतका कार्यक्रममा सहभागी हुन उहाँले आग्रह गर्नुुभयो ।
राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले दैनिक आवश्यकपर्ने सहायक सामग्री कृत्रिम हातखुट्टा, क्यालिपर, वैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयरजस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको जानकारी गराउनुभयो । कोषले विषेशज्ञबाट नापजाँच एवं तालिमसहित ओम हङ्ग गिल ह्युमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर ३२ जनालाई वितरण गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
