‘हामी गलत कसरी भइयो ?’


काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आइतबार सामाजिक संजालमार्फत न्यौपानेले प्रचण्डको भनाईप्रति आपत्ति जनाएका हुन् । शनिबार अखिल क्रान्तिकारीको २३औं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार काठमाडौंमा शपथ गराउँदै प्रचण्डले सम्मेलनले विद्यार्थी नहुने तर, विद्यार्थी नेता भइरहने अभ्यासको अन्त्य भएको बताएका थिए ।
प्रचण्डले भनेका थिए, ‘उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्त्वपूर्ण अभ्यास हो । अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।’
यस्तो छ लेखनाथ न्यौपानेको भनाई
कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियो, अब हल भयो भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा बोलेको हुनाले यसबारे सार्वजनिक रुपमै केही भन्नुपर्ने भयो ।
१) कानुनी रुपमा अहिले प्रयोगमा आएको ३२ वर्षे उमेरहदभन्दा अगाडि नै अध्यक्षको जिम्मा पाइसकेको अवस्था हो, ३२ वर्ष वरिपरिमा त दोस्रो कार्यकालको जिम्मा शुरुवात भइसकेको थियो र विश्वविद्यालय पढेरै आएको हो हामीहरु ।
२) पहिलोपटक अध्यक्ष बन्ने निर्णय ०५९ को अन्त्यतिर सम्पन्न पार्टीको रोल्पा बैठकले गरेको थियो, त्यतिबेला म मकवानपुरको चुरे क्षेत्रतिर पार्टी काममा थिए । फलानोलाई अध्यक्ष बनाउनु पर्याे वा फलानोलाई बनाउन हुँदैन भन्ने न हाम्रो संस्कृति थियो, न हामीलाई त्यो मौका नै । अध्यक्ष बनाको उहाँहरुले नै होला ? दोस्रो पटक अध्यक्ष हुँदा पनि मै दोहोरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन, खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरुले नै निर्णय गर्नुभएको हो । गज्जब त के भने तेस्रो पटक पनि तपाईं नै अध्यक्ष बन्नुपर्याे भन्ने उहाँको जोड थियो । योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ । मैले गर्ने योगदान गरिसकै । पुनः त्यही जिम्मा लिंदा योगदानको निरन्तरता वा ओरालो परिणाम मात्र हुन्छ । यसले विद्यार्थी आन्दोलन र विद्यार्थी साथीहरूलाई राम्रो पर्दैन । त्यसकारण यो हुनै सक्दैन भन्नै मै हुँ ।
३) जनयुद्धको समयमा शहरीया आन्दोलन जोखिमको विषय थियो, जसमा विद्यार्थी संगठन अग्रभागीय मोर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाको होला अर्काेतिर क्याम्पस क्याम्पसबाट पुर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य मोर्चामा पठाउनु पर्ने योजना । यसअन्तर्गत कैयौं साथीहरू सहिद–वेपत्ता बन्नुभयो । हामी दर्जनौ पटक हिरासत, यातना, अपाङ्गता र लामो जेलजीवन बिताएर आएको इतिहास । पार्टीको निर्णय/आदेशप्रति न प्रश्न उठाइयो, न इन्कार नै । हामी गलत कसरी भइयो ?
४) एउटा विषय दावाकासाथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिको परिवेशमा त्यतिबेलाको विद्यार्थी आन्दोलनले पुर्याएको योगदान र निर्माण गरेको मानक सामान्य थिएन, विशिष्ट थियो ।
५) टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड !