अब राजसंस्था फर्केर देश चलाउन सक्छ भन्ने सम्भावना छैनः सचिव भट्टराई


सुर्खेत । नेकपा एमाले सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न आग्रह गरेका छन् ।
बिहीबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन पूर्वराजालाई आग्रह गरेका हुन् । उनले जनताले फ्याँकिसकेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।
उनले भने, ‘उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो । फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन । अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन ।’ उनले पूर्वराजाको वक्तव्यपछि राजावादीहरु हौसिनुको कुनै अर्थ नरहेको बताए ।
उनले भने, ‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो । अब राजतन्त्र आउनेभो भनेर हौसिनुको अर्थ छैन ।’
प्रजातन्त्र दिवसका अवसरमा मंगलबार भिडियो सन्देश जारी गरी पूर्वराजा शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।
सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’