`

सरकार अरु काम नपाएर कुलमानको पछि मात्रै लागेको जस्तो देखियोः महामन्त्री थापा

Nepal One HD २४ फागुन २०८१ १७:५६
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारे किचकिच गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सिन्धुलीमा शनिबार पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोधेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले मन्त्रीहरुलाई राम्रो काम गर्न नसके नराम्रो काम नगर्न आग्रह गरे । उनले एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिएको बताए ।

उनले भने, ‘अहिले हामी सुनिरहेका छौं, ऊर्जा मन्त्रालयको । मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो, तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठीक होइन । तीनचार महिनापछि उपयुक्त व्यक्ति ल्याएर नेतृत्व गर्न दिने । सरकारले नै व्यक्तिको पछि लागेर किचकिच गरिरहेको देखिन्छ । यस्तो कुरा ठीक होइन । यस्तो काममा कोही मन्त्रीहरू लाग्नु हुँदैन । प्रधानमन्त्री भनेको सरकारको, त्यो क्याबिनेटको मास्टर हो । उसले राम्रो कामको श्रेय पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’

उनले आफूहरूले सरकारको सहयोगी भएको र राम्रो काम गरोस् भन्ने चाहेको बताए । कुलमानका विषयमा अहिलेसम्म महामन्त्री थापा मौन थिए ।

सरकारले कुलमानलाई बर्खास्त गर्ने तयारी गरेको छ । अहिलेसम्म कुलमानलाई किन बर्खास्त नगर्ने भन्दै ६ पटक स्पष्टीकरण सोधिसकेको छ ।

उर्जामन्त्रीले केहीदिन अघि संसदमा लोडसेडिङ अन्त्य गर्नमा कुलमानको हात नभई भारतको हात भएको बताएका थिए । त्यस्तै कुलमानले प्राधिकरण नाफामा गएको भनेर झुठा विवरण पेश गरेको आरोप लगाएका थिए ।


प्रतिक्रिया