किन पोखियो जनआक्रोश सडकमा ?


-डा. सूर्यराज आचार्य ।
यो संविधान ठीक ढंगले लेखिएन र राज्यप्रणाली परिणाममुखी बन्न सकेन । संविधान र राज्यप्रणालीमा उल्लेख्य सुधार आवश्यक थियो, तर राजनीतिक संस्थापन सत्ताको भागबण्डा र राज्यदोहनमै व्यस्त रह्यो । समय घर्किंदै गयो, तर परिणामहीन र भ्रष्ट राज्यव्यवस्थाका कारण जनआक्रोश चुलिंदै गयो। यो कुनै न कुनै रुपमा प्रकट हुनु नै थियो ।
अहिले राजाको समर्थनका रूपमा जनआक्रोश सडकमा पोखिंदै छ । यदि बेलैमा राजनीति, संविधान, र राज्यप्रणालीमा सुधार गरी जनअपेक्षित परिणाम दिन सकिएको भए, गणतन्त्रको स्वीकार्यता बढ्ने थियो, र राजसंस्था इतिहासको पानामै सीमित रहन्थ्यो। तर, त्यसो भएन । अब संविधान र राज्यप्रणालीमा गरिनुपर्ने हेरफेरमा राजसंस्थालाई पनि स्थान दिनुपर्ने अवस्था सिर्जना भएको छ । र, यो परिस्थिति सिर्जना गर्ने जिम्मेवार भनेकै वर्तमान राजनीतिक संस्थापन/नेतृत्व हो । अब पनि चुनाव जितेर कसरी सत्ता हत्याउने, र सत्ता भोग गर्ने भन्ने घातक सोचको निरन्तरता नहोस् । आशा गरौं, मुलुकले सर्वस्वीकार्य निकास पाउने छ ।