सरकारको कार्यसम्पादन कमजोर भएकै कारण राजावादीहरुले टाउको उठाएः अध्यक्ष राउत


महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन् ।
सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएता पनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे । उनले भने, ’हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ । जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौ तर समाजवादी गणतन्त्र भने हैन।’
महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे। शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनुपर्ने बताए ।