धवल शम्शेर पक्राउ परेको सूचना पुग्यो संसद सचिवालयमा, अब के हुन्छ पद ?


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।
राप्रपा महामन्त्री तथा नवराज सुवेदी नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिु का आन्दोलन परिचालन समितिका प्रमुखसमेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको जानकारी दिए।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो ।
प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन । प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सांसद पद निलम्बनमा पर्नेछ ।
यस्तो अवस्थामा राणाले सांसदको रुपमा तलब–भत्ता पाउने छैनन् । उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ को ५ अनुसार तत्काललाई भने राणा संसदीय गतिविधिमा सरिक हुने छैनन । राणाले सफाइ पाए वा थुनामुक्त भए त्यसको सूचना सभामुखलाई दिनुपर्छ । त्यसपछि मात्रै राणा संसदीय गतिविधिमा सरिक हुन पाउनेछन् ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ।