`

कार्यक्रमपछि आफैं सरसफाई गरेको भन्दै बालेनले दिए राप्रपालाई धन्यवाद

Nepal One HD २६ चैत २०८१ १७:३५
राजनीति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको बल्खुमा सभा गरेको राप्रपाले कार्यक्रमपछि आफैं सरसफाई गरेको भन्दै धन्यवाद दिएका छन् ।

सामाजिक संजालमार्फत मेयर साहले महानगरको उद्देश्य जरिवाना गर्ने मात्र नभएको भन्दै आफैं सरसफाई गरेको भन्दै धन्यवाद दिएका हुन् ।

मेयर साहले लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका थिए । राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा आयोजना गरेको थियो । सभा सकिएपछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेका हुन् ।

यसअघि पूर्वराजा पोखराबाट फर्किने क्रममा त्रिभुवन विमानस्थल बाहिरको सडकमा फोहर गरेको र भौतिक संरचनामा क्षति गरेको भन्दै महानगरले राप्रपालाई एकलाख रुपैयाँ जरिवाना गरेको थियो ।


प्रतिक्रिया